इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर सिस्नु सङ्कलन गर्नुहुन्छ । उहाँ दैनिक १५ देखि २० किलोसम्म सिस्नो सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको सिस्नु सोही सामुदायिक वनले सञ्चालन गरेको सिस्नो प्रशोधन केन्द्रमा बिक्री गर्नुहुन्छ । उहाँले सङ्कलन गरेको सिस्नुबापत प्रतिकिलो ८० रुपियाँ पाउनुहुन्छ । फुर्सदको  समयमा टिपेको सिस्नोले राम्रो आम्दानी गराइरहेको उहाँ बताउनुहुन्छ । बस्नेत जस्तै धेरै स्थानीय अहिले सो सामुदायिक वनमा पुगेर सिस्नु सङ्कलन गरी आम्दानी गर्दै आएका छन् । पहाडी क्षेत्रका गाउँघर तथा वन जङ्गलमा पाइने सिस्नुमा पोल्ने गुण हुँदा घाँसपात तथा खेतीपाती गर्दा धेरैका लागि सिस्नु टाउको दुखाइ बन्ने गरेको छ । चैते सामुदायिक वनका उपभोक्ता तथा सो आसपासका बासिन्दा भने पछिल्लो समय त्यही सिस्नु संरक्षण तथा खेती गरी राम्रो आम्दानी गरी रहेका छन् ।

उनीहरूका लागि सिस्नु पहिले पहिले टाउको दुखाइ भए पनि अहिले भने आम्दानीको एक पाटो बनेको छ । चैते सामुदायिक वनले सिस्नु प्रशोधन गरी धुलो र तीनपाते मुनालाई सुक्खा गरी उत्पादन सुरु गरेपछि सो क्षेत्रका स्थानीयले सिस्नुबाट आम्दानी गर्न थालेका हुन् । ३६५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको करिब १० प्रतिशत क्षेत्र सिस्नोले ढाकेको छ । गत आवमा सामुदायिक वनको करिब एक हेक्टर क्षेत्रमा व्यावसायिक सिस्नु खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । योसँगै सामुदायिक वन आसपासका स्थानीयले समेत सिस्नु खेती सुरु गरेको खड्का बताउनुहुन्छ । अहिले दैनिक लोकल, पात्ले र अल्लो जातका सिस्नु गरी ४०÷५० किलो सङ्कलन हुने गरेको छ । जसबाट दैनिक करिब पाँचदेखि छ किलोसम्म धुलो उत्पादन हुन्छ । सामुदायिक वनले अहिले सिस्नुको धुलो र तीनपाते मुना उत्पादन गर्दै आएको छ ।

सिस्नुको धुलो प्रतिकिलो दुई हजार रुपियाँ र तीनपाते मुना दुई हजार पाँच सय रुपियाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ । सो सामुदायिक वनलाई डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यव्रmम अन्तर्गत आव २०८१÷८२ मा १० लाख रुपियाँ पर्ने सिस्नु सुक्खा गर्ने धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराएको छ । पहिले पहिले सिस्नु गाउँघरमा कमै खाने चलन थियो । गाउँघरमा दुःख पाएकाले मात्र सिस्नु खान्छन् भन्ने चलन थियो, सहर बजारमा यो खाने चलन नै थिएन । पछिल्लो समय गाउँघरमा भन्दा पनि सहरबजार र ठुलाठुला होटेलका ग्राहक यसको प्रयोगकर्ताका रूपमा रहेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ ।

होटेलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको स्थानीय होटेल व्यवसायी हेमराज बानियाँ बताउनुहुन्छ  प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ ।  अहिले उत्पादन भएको धुलो वसन्तपुरका होटेल मात्र नभई जिल्ला बाहिरका ठुला ठुला होटेलमा पुग्ने गरेको छ । विदेशबाट समेत माग हुने गरेको छ तर भर्खरै उत्पादनको सुरुवात भएको र लेबलिङको काम प्रव्रिmयामा रहेकाले बाहिर नपठाएको सामुदायिक वनको सदस्य रेणुका खड्का बताउनुहुन्छ ।