इटहरी । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२र८३ का बजेट ल्याउने भएका छन् । मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले बजेट ल्याउने भएका हुन् ।

नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेर सभाबाट पारित समेत गरिसकेको मैवाखोला गाउँपालिकाले मङ्गलबार आगामी आवका लागि बजेट प्रस्तुत गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम सभाबाट पारित भइसकेको बताउँदै पालिका अब बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

सिरिजङ्गा गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । नीति तथा कार्यक्रम पारित गरेर सिरिजङ्गाले मङ्गलबार सभामा बजेट प्रस्तुत गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिकाले मङ्गलबार नै नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारीले नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय तह मध्ये सिदिङ्वा गाउँपालिकाले भने आगामी आवको नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गरिसकेको छ । सिदिङ्वाले आइतबार १९ औँ गाउँसभा अधिवेशनमा आगामी आवको नीति, कार्यक्रम र बजेट पेश गरिसकेको छ ।

बाँकी फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले भने बुधबार नीति, कार्यक्रम र बजेट सभामा पेश गर्ने कार्यसूची बनाएका छन् ।