इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए । नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा सुरु भएको हो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उनले बताए । नगरपालिकामा ११ वडा छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । भग्नावशेषहरुको सरसफाइ र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए । कनकाई नगरपालिकाले आगजनीमा परेको भवनबाटै आज सेवा सुरु गरेको छ । नगरमा नौ वटा वडा कार्यालय छन् । सबै वडा कार्यालयमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएका थिए ।नगरपालिकाबाट न्यूनतम् आवश्यक सेवा प्रदान गर्न थालिएको र दुई दिनपछि सबै वडाले आफ्नै वडा कार्यालयबाट वडावासीलाई सेवा दिनेगरी तयारी भइरहेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।

नगरका छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा कार्ड नवीकरण भएका सबैको भत्ता बैंक खातामा पठाइसकेको उनले जानकारी दिए । ध्वस्त भएको वडा कार्यालयमा सरसफाइ सकेर विद्युत्, इन्टरनेट, फर्निचर, पानी लगायतको सुविधा पुर्याइएको उनले बताए । मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवन र १५ वटामध्ये १४ वटा वडा कार्यालय जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोड भएका थिए । नगरपालिकाले आइतबारदेखि आंशिक सेवा प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।