इटहरी । जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षीलगायतका पालिकाले सेवा सुरु गरेका हुन् । झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा पालिका रहेकोमा अधिकांशमा तोडफोड, आगजनी भएको थियो । हल्दीबारी र कमल गाउँपालिकाबाहेक सबै पालिकामा आन्दोलनकारीले आगजनी गरेका थिए । कतिपय पालिकामा वडा कार्यालयसमेत ध्वस्त भएका छन् । सामाजिक सुरक्षा भत्ता नवीकरण तथा निकासा, राजस्व सङ्कलन, नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला प्रमाणित जस्ता सेवा पालिकाले सुरु गरेका हुन् । कतिपय पालिकामा वडा र पालिकाको प्रशासकीय काम एकीकृत रूपमा एउटै कोठामा बसेर पालिकाका शाखाले सेवा प्रदान गर्दै आएका छन् । पालिकाले जलेको भवनबाट नै सेवा सुरु गरेका छन् । प्राविधिक जाँचपछि मर्मतसम्भार तथा पुनर्निर्माणको काम सुरु गर्ने बताइएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार अति आवश्यकीय सिफारिस तथा सेवालाई सुचारु गरिएको छ । गौरादह नगरपालकिाका प्रमुख छत्रपति सुवेदीका अनुसार जनताको कामलाई सकेसम्म नरोक्ने गरी काम सुचारु गरिएको छ । बिर्तामोड नगरपालिकाले भने सेवा सुचारु गर्न सकेको छैन ।


