इटहरी। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । दैनिक हजारौँ पर्यटक आउने यी क्षेत्रका होटेल, कटेज तथा होमस्टे सुनसान भएका थिए । देशको अवस्था सामान्य बन्दै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । विशेष गरी कन्याम र अन्तुमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ । भारतको पश्चिम बङ्गालका पर्यटकले भरिभराउ हुने यी पर्यटकीय क्षेत्रमा अहिले भने स्वदेशी पर्यटक मात्र आउने गरेका छन् । नेपालमा भएका आन्दोलनपछिको त्रासका कारण भारतीय पर्यटक आउन छाडेका हुन् । आन्दोलनपछि सुरक्षाका कारण भारत सरकारले समेत भारतीय नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छ । उहाँका अनुसार पहिले दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेको अन्तुमा अहिले दैनिक पाँच सय हाराहारी पर्यटक आउँदैछन् । अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । यस्तै अर्को पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको सामान्य चहलपहल सुरु भएको छ । कन्याम आन्दोलनपछि प्रायः सुनसान थियो, अहिले भने केही चहलपहल सुरु भएको होटेल व्यवसायी टेकराज गिरिले बताउनुभयो । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको चाप न्यून भएको छ । इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माईपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भन्डीडाँडासहितका क्षेत्रमासमेत पर्यटकको चहलपहल बढेको छ । पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकृत गगन घिमिरेले पहिले दैनिक ३० देखि ४० वटा भारतीय सवारी प्रवेश गर्ने गरेकोमा अहिले दैनिक चार÷पाँच वटा मात्र भारतीय सवारी प्रवेश गर्ने गरेका छन् । उहाँका अनुसार स्वदेशी पर्यटकको समेत चाप घटेको छ ।