इटहरी | नेपाल कम्युनिष्ट पार्टी इटहरी नगर समितिद्वारा "जेनजी विद्रोह, नयाँ परिस्थिति र अबको निकास" विषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हालसालै सम्पन्न जेनजी आन्दोलनले उत्पन्न गरेको नयाँ राजनीतिक परिस्थिति र त्यसपछिका चुनौती तथा सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
नगर इन्चार्ज जसोधा सि ले जेनजी आन्दोलनले देशको राजनीतिमा महत्वपूर्ण प्रश्नहरू उठाएको बताउनुभयो।
यसै अवसरमा देशभक्त समाजवादी मोर्चाका केन्द्रीय महासचिव पदम अधिकारीले जेनजी आन्दोलनमा विदेशी शक्तिको संलग्नता रहेको दाबी गर्दै देशको रक्षा र परिवर्तनका लागि क्रान्तिकारी शक्तिहरू अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका पोलिटब्युरो सदस्य र किरात–लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सि ले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकार विदेशी योजनाअनुसार बनेको टिप्पणी गर्दै नयाँ सरकार गठन र युवाहरूलाई रोजगारी दिने जिम्मेवारी तत्कालीन आवश्यकता रहेको धारणा राख्नुभयो।
अन्तरक्रिया कार्यक्रममा लिम्बुवान मुर्ति मोर्चाका संयोजक गजेन्द्र पालुङवा, नेपाल समाजवादी इटहरी नगरका नेता रमेश खत्री, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव तथा नागरिक समाजका पूर्व अध्यक्ष राजु केशी, गणतान्त्रिक खेलकुद मंच इटहरीका पूर्व अध्यक्ष राजकुमार राई, जनता समाजवादी इटहरी नगर अध्यक्ष डिल्ली सुब्बा, पुर्वेली क्लब इटहरीका अध्यक्ष झलक बन लगायत विभिन्न दलका नेताहरू र सरोकारवालाको सहभागिता रहेको थियो।
पार्टीले यस्ता अन्तरक्रिया कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । जेनजी आन्दोलनकै कारण संसद विघटन भई यहीँ फागुन २१ गते नयाँ चुनाव हुने तय भएको छ।


