सुनसरी | दुहबीमा खानेपानीको अत्यधिक समस्या देखिएपछि आपूर्ति सहज बनाउन २ वटा बोरिङ गर्नु परेकाले ऋण लिनुपर्ने बाध्यतामा समितिले खानेपानी शुल्कमा ४० प्रतिशत वृद्धि गरेको दुहबी खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष जीवन थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
थापाका अनुसार परिषदको निर्णयअनुसार गरिएको मूल्यवृद्धिपछि प्राविधिक गडबडी नहुँदा दैनिक १८–२० घण्टासम्म खानेपानी आपूर्ति भइरहेको छ। उनले फुलपातीदेखि दशैंभर उपभोक्तालाई २४ घण्टा शुद्ध, फिल्टर गरिएको पानी उपलब्ध गराउने तयारी भएको समेत बताए।
समितिका अनुसार हालसम्म पुरानो समितिले लिएको ३ करोड ७० लाख र हालको समितिको ४२ लाख गरी करिब ४ करोड १२ लाख रुपैयाँ ऋण बाँकी छ। सोही क्रममा करिब २५० उपभोक्ताबाट २३ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ भने ७० लाख रुपैयाँ बैंक मौज्दात रहेको जानकारी दिइएको छ।
दशैं–तिहार लगत्तै बाँकी बक्यौता उठाउन सार्वजनिक सूचना जारी गरिने समितिले जनाएको छ। हाल दुहबी खानेपानी समितिले मासिक करिब १० लाख रुपैयाँ आम्दानी गर्ने र ७ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ।


