इटहरी । सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दिपेन लिम्बु संखुवासभामा पक्राउ परेका छन् ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा मादी नगरपालिका–३ जिमी गाउँमा उनको घरमा छापा मारेको थियो । प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको चार जनाको टोलीले कोठामा सुतिरहेको अवस्थामा लिम्बुलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई प्रहरी चौकी मंगलबारेमा राखिएको छ । जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा लिम्बु पुर्पक्षका लागि २०८० भदौ २५ गते झुम्का कारागार चलान भएका थिए । तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार लिम्बु घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । यसअघि पनि संखुवासभा प्रहरीले आन्दोलनकै क्रममा काठमाडौँको नख्खु कारागार र सुनसरीको झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो दिनमा फरार कैदीलाई पक्राउ गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको बताएको छ । मंगलबारे प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्व–दक्षिणमा पर्ने जिमी गाउँमा पक्राउ परेका लिम्बुविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।