इटहरी । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा पूर्व–पश्चिम राजमार्ग र सहरी केन्द्रहरूमा यात्रुको  चाप तीव्र बन्दै गएको छ । यात्रामा भीडसँगै ठगी र दुर्घटनाको जोखिम बढ्ने भएकाले यसपटक कोशी प्रदेशका १४ वटै जिल्लाका ४० स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । इटहरी उपमहानगरपालिका–९, बसपार्कमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठनका प्रतिनिधि, सञ्चारकर्मी, चालक–परिचालक तथा यात्रुहरूको उपस्थितिमा सहायता कक्षको औपचारिक शुभारम्भ गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डिएसपी सन्तोष श्रेष्ठले चाडपर्वको समयमा कुनै पनि अपराधजन्य घटना नहोस् भन्ने उद्देश्यले ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार यात्रुहरूले यस मार्फत आवश्यक जानकारी, सुरक्षा र सहयोग प्राप्त गर्न सक्नेछन् । चाडपर्वमा यात्रु चाप बढी हुने भएकाले ‘यात्रु सहायता कक्ष’मार्फत यात्रुहरूले “मात्र यात्रा होइन, यात्रा क्रममा भरोसा पनि” पाउने अपेक्षा गरिएको छ । नेपाल प्रहरीको साझेदारीमा यो अभियान अघि बढाइएको हो ।