इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोग विहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय नागरिकहरू सक्रिय भएका छन् । उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा तत्काल ट्राफिक प्रहरीलाई वसेर काम गर्ने वातावरण तयार गर्दै कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो । उहाँले विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग तथा श्रमदान मार्फत कार्यालयलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आह्वान गर्नुभएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका इटहरीका सरकारी कार्यालयहरूको पुनः सञ्चालनका लागि नागरिक समाज इटहरीको अगुवाइमा छलफल समेत भएको थियो । छलफलमा सहभागी संघसंस्था, इटहरीवासी र सरोकारवाला सबैले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राईले पनि ट्राफिक प्रहरी कार्यालयलाई शीघ्र सञ्चालनमा ल्याउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । यसै क्रममा इटहरीका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय संघसंस्था तथा सरोकारवाला मिलेर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई तत्काल सञ्चालन योग्य वातावरण बनाउन जुटेका छन् ।


