भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ८ र ९ को गोगने–सल्लेनी सडकको दयनीय अवस्थाले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। वर्षा याम सकिएको र दशैं नजिकिँदै गर्दा पनि सडक मर्मत–सम्भार नगरी सम्बन्धित निकाय मौन बस्दा जनतामा आक्रोश चुलिएको छ।
गोगनेका स्थानीय बासिन्दा बुद्धिमान मास्केले सामाजिक सञ्जालमार्फत चौथो पटक सडकको अवस्था सार्वजनिक गर्दै सरोकारवालाको उदासीनतामाथि प्रश्न उठाएका छन्। उहाँका अनुसार सल्लेनी तामाधाराभन्दा माथिल्लो भागमा सवारीसाधन गुड्न नसक्ने अवस्थामा छ, जसका कारण असक्त नागरिकलाई स्वास्थ्य संस्था पुर्याउन र माथिल्लो भेगका बासिन्दालाई घर पुग्न निकै कठिनाइ भएको छ।
स्थानियलाई सडक बिग्रँदा तल्लो भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान गाह्रो ,दशैंमा विदेशबाट फर्कने गाउँलेहरूलाई घर पुग्न कठिनाइ , वर्षा सकिए पनि समयमै मर्मत नगर्दा सास्ती दोहोरिने अवस्था लगाएत समस्या हुने भएको छ ।
मास्केका अनुसार कार्यवाहक वडा अध्यक्ष गंगाबहादुर तामाङले बजेट कटौती हुने भन्दै दशैंपछि मात्रै सडक सुधार हुने बताएका छन्। वडा सदस्य दीलकुमार राईले पनि त्यही जवाफ दिएका छन्।
यता, गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पालिकाको JCB बिग्रिएको र अन्य मेसिन तत्काल उपलब्ध नभएकाले सबै वडालाई आफैं सम्पर्क गरेर काम गर्न निर्देशन दिइएको जानकारी गराएका छन्।

तर स्थानीय भने जनप्रतिनिधिको सुस्तता र बेवास्ताले समस्या झनै गम्भीर बन्दै गएको बताउँछन्। गोगनेबासीले सकेसम्म दशैँको समयका लागि भए पनि मेसिन ल्याएर सडक स्तरोन्नति गर्न माग गरेका छन्। उनीहरूका अनुसार दशैं अगाडि सडक सहज नबनाइएमा गाउँलेहरूलाई झनै ठूलो सास्ती व्यहोर्नु पर्नेछ।


