कुमार थापा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कमिटीको बैठक नेपालका जेन्जी आन्दोलन पश्चात उत्पन्न भएको विषम राजनीतिक परिस्थितिलाई केन्द्रित गर्दै प्रारम्भ भएको छ।
बैठकसँगै पार्टीभित्र प्रवृत्ति सुधार र कार्यशैली रूपान्तरणलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। यस सन्दर्भमा, “पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ,” भन्ने विचार व्यक्त गर्दै कुमार थापाले पार्टीलाई जनमुखी, जिम्मेवार र रूपान्तरणशील बनाउन प्रवृत्ति नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
थापाका अनुसार, नेतामात्र परिवर्तन गरेर पार्टी गतिशील बन्ने सोच भ्रान्ति हो। “व्यक्तिभन्दा पनि प्रवृत्ति नै खतरनाक हुन्छ, त्यसैले गलत प्रवृत्ति र जरो गाडेर बसेको खराब कार्यशैलीमा आमूल सुधार गर्नैपर्छ,” उनले बताएका छन्।
पार्टीका पुराना नेताहरूलाई अभिभावक, आदर्श र बलियो जगका रूपमा व्याख्या गर्दै उनले नयाँ पुस्तालाई ऊर्जा, सिर्जनशीलता र समयसापेक्ष दृष्टिकोणसहितको गतिशील शक्ति भएको उल्लेख गरे। “यी दुवैलाई सन्तुलित गर्दै विचार, राजनीति र दृष्टिकोणलाई अगाडि बढाउनु नै आजको असल राजनीतिको आधार हो,” थापाको भनाइ छ।
थापाले कसैको लहड वा बहकाउमा लागेर नेतृत्व हत्याउने वा अनुहार मात्र बदल्ने अभ्यास अनुचित हुने बताए। प्रवृत्ति सुधार, दृष्टिकोण सन्तुलन र कार्यशैली रूपान्तरणमार्फत मात्रै पार्टीलाई जिम्मेवार र जनमुखी बनाउन सकिने उनको भनाइ छ।
पार्टीको यो ऐतिहासिक बैठकले गम्भीर विमर्शमार्फत मुलुकका चुनौती सामना गर्ने सशक्त मार्ग निर्माण गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।
यो लेख कुमार थापाको हो । 


