सुनसरी | दुहबीमा जेनजी आन्दोलनको क्रममा अराजक समूहको आक्रमणबाट क्षति पुगेको दुहबी नगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन उद्योग क्षेत्रबाट सहयोग प्राप्त भएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी र उद्योग संगठन मोरङले संयुक्त पहलमा नगरपालिकालाई करिब तीन लाख रुपैयाँ बराबरको जिन्सी सामग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीबाट कामकाज प्रभावित भएको अवस्थामा संघ, संगठन र परिसंघले कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यसहित २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान अफिस टेबल, २ थान रिभल्भिङ चेयर, ४ थान भिजिटर चेयर, १ थान स्टील दराज र १ थान बुककेस उपलब्ध गराएका हुन् ।
सहयोग सामग्रीहरू दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई मोरङ उद्योग व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराई र नेपाल उद्योग परिसंघ कोशीका महानिर्देशक विजयहरि शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए
सहयोग हस्तान्तरण कार्यक्रममा नगरप्रमुख गच्छदारले स्थानीय सरकारको सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गर्दै यसले नगरपालिकालाई फेरि गती दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।


