इटहरी । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले झुम्का आधारभूत अस्पतालमा ’स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु’ को शुभारम्भ गर्नुभएको छ । यस सेवा बिन्दुको स्थापनाबाट स्थानीय बासिन्दाहरूले अब उक्त अस्पतालभित्र नै स्वास्थ्य बीमासँग सम्बन्धित सबै जानकारी, दर्ता, सल्लाह र अन्य आवश्यक सेवाहरू प्राप्त गर्न सक्ने भएको छ । यसले ग्रामीण क्षेत्रका नागरिकहरूको लागि स्वास्थ्य बीमा सम्बन्धी पहुँच र सजिलोको सिर्जना गर्ने अपेक्षा गरिएको छ । उद्घाटनको अवसरमा उपमेयर थापाले यो सेवा नगरका नागरिकहरू, विशेष गरी गरीब, वंचित र सुगम्यताको अभाव भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने महत्त्वपूर्ण कदम भएको बताउदै यसले स्थानीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त भर्नुभयो । यस अवसरमा नगरपालिकाका अधिकारीहरू, स्वास्थ्य कर्मचारीहरू र स्थानीय नागरिकहरू उपस्थित भएका थिए । यस सेवा बिन्दुले स्वास्थ्य बीमा योजनाबारे जनचेतना बढाउने र सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई स्थानीय तहमा सफल बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।