इटहरी । नेपाल खेलकुद महासंघले आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा राजधानी बानेश्वरस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जेन–जि आन्दोलनका कारण देशभर सिर्जिएको विषम परिस्थितिलाई संकट मोचन गर्ने उद्देश्यसहित विशेष प्रदेश सहित सात वटा प्रदेशमा प्रदेश अध्यक्षको नेतृत्वमा १०१ सदस्यीय विशेष स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ । यस अवसरमा चितवन जिल्लाबाट मुङ्लिन–नारायणगढ सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरुलाई प्रदान गरिएको सेवाप्रति धन्यवाद व्यक्त गरिएको छ ।

साथै, पार्टी नेतृत्वको पक्षमा र नेतृत्वको सुरक्षामा महासंघ सिङ्गो संगठन खटिने प्रतिबद्धता जाहेर गरिएको छ । संगठनलाई जनताको सेवामा समर्पित गर्ने, आन्तरिक एकता बलियो बनाउने र नयाँ पुस्तालाई आकर्षित गर्ने अठोट पनि गरिएको थियो । कार्यक्रममा जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी दिइएको छ ।