इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । साम्प्रदायिक विवाद बढ्दै गएपछि उत्पन्न तनावका कारण सीमा क्षेत्र रानी–जोगवनी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सुरक्षाकर्मीका अनुसार हिन्दु समुदायका केही युवाले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गलत टिप्पणी गरेपछि मुस्लिम समुदाय विरोधमा उत्रिएको हो ।

सोही क्रममा बजरंग दलका कार्यकर्ता पनि प्रतिवादमा उत्रिएपछि दुवै पक्षबीच दोहोरो झडप भएको जानकारी आएको छ । दुवै समुदायका समूह लाठी, भाला बोकेर प्रदर्शनमा उत्रिएपछि जोगवनी बजार तनावग्रस्त बनेको छ । केही संरचनामा तोडफोडसमेत भएको बताइएको छ । दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिनुभयो । सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् ।