इटहरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा बिहीबार उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा “जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय तहका प्रमुख–प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता पोलिट ब्युरो सदस्य दिपेश राईले हालको विद्रोहलाई सामान्य सरकार परिवर्तनको आन्दोलन मात्र नभई राज्यव्यवस्था परिवर्तनको सङ्घर्षका रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।

राईले संविधान पुनर्लेखन, कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र नेपाली समाजको विशेषतामाथि आधारित वैज्ञानिक समाजवादतर्फ देशले अघि बढ्नुपर्ने धारणा  राख्नुभएको छ । साथै, उहाले राष्ट्रवादी र कम्युनिस्ट शक्तिहरू एकताबद्ध भई निकास खोज्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै, उर्लाबारी नगरपालिका प्रमुख गंगा प्रसाद खरेलले आन्दोलनमा गोली प्रहार गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारीलाई कारबाही, आन्दोलनको दुरुपयोग गरी आगजनी गर्नेहरूलाई कठोर अनुसन्धान र कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो । नगरपालिकाका पूर्व प्रमुख खड्गबहादुर फागुले नेताहरूको अकर्मण्यता र नेतृत्वहीनताले अहिलेको संकट निम्त्याएको बताउनुभयो ।

त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको उदासीनताले दुर्घटना निम्त्याएको भन्दै आगजनीमा भएको घुसपैठबारे छानबिनको माग गरेका छन्  । उनिहरुले आन्दोलनमा टाउको र छातीमा गोली लाग्नु रहस्यमय भएको भन्दै छानबिन आवश्यक भएको बताएका छन्  । कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य डिल्ली नेपालीले गरेका थिए भने स्वागत मोरङ सचिव कुमार सी.ले गरेका थिए । उक्त  कार्यक्रमका निष्कर्षहरू एकीकृत गरी केन्द्रमा पठाइने र थप बहस–छलफल गरिने आयोजकले जानकारी दिएको छ ।