इटहरी । जुम्ला जिल्लाको सिन्जा क्षेत्र अन्तर्गत कनकासुन्दरी गाउँपालिकाका विभिन्न वडाबाट संकलन गरिएको करिब २५ सय क्वीन्टल अर्गानिक स्याउ हाल इटहरीमा बिक्रीका लागि ल्याइएको छ । अबर काफ्ले, युवराज काफ्ले, रम हमाल लगायतको टिमले निरन्तर चार देखि पाँच दिन सम्म ट्रक मार्फत ढुवानी गरी स्याउ इटहरी ल्याएका हुन् । इटहरी–६ दुर्गा पार्टी प्यालेस नजिक काफ्ले अर्गानिक सेन्टर मार्फत रेड डेलिसियस, रोयल डेलिसियस र जोनाथन जातका स्याउ बिक्री भइरहेको छ । विशेष गरी जुम्लाको अर्गानिक स्याउ कुनै पनि रासायनिक मल वा कीटनाशक बिना उत्पादन हुने भएकाले पूर्णतया प्राकृतिक र स्वास्थ्यवद्र्धक मानिन्छ ।
यसको मीठो स्वाद, रसिलोपन र ताजगी अन्य क्षेत्रका स्याउभन्दा फरक र गुणस्तरीय हुने उपभोक्ताहरू बताउँछन् । यस स्याउमा भिटामिन ए, सी, फाइबर तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले मुटु रोग नियन्त्रण देखि पाचन प्रणाली सुधारमा फाइदाजनक हुने विज्ञहरूको भनाइ छ । जुम्लाको चिसो मौसम र उच्च भौगोलिक उचाइ यस किसिमको खेतीका लागि अनुकूल भएको बताइन्छ । अर्गानिक स्याउले स्वास्थ्य सचेतना बढाउने मात्र नभई प्राकृतिक र स्वस्थ जीवनशैलीलाई पनि प्रवद्र्धन गर्ने भएकाले उपभोक्तामाझ यसको आकर्षण बढ्दो छ ।


