इटहरी । हालै जेन्जी आन्दोलनका क्रममा विभिन्न अराजक तत्वहरूले घुसपैठ गरी देशका महत्वपूर्ण संरचना र निजी सम्पत्तिमाथि आगजनी गरेका छन् । सोही सिलसिलामा सुनसरी जिल्लाका विभिन्न स्थानमा गरिएको तोडफोड र आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ । घटनापछि नेकपा (एमाले) पोलिटब्युरो सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेशसभा सदस्य रामदेव यादव, गढी गाउँपालिका अध्यक्ष आस नारायण चौधरी, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरू, गढी गाउँपालिका अध्यक्ष दिपक चौधरी, बर्जु गाउँपालिका अध्यक्ष भिम भट्टराई लगायतका स्थानीय नेता, वडा अध्यक्ष, वडा कमिटीका प्रतिनिधि तथा युवा कार्यकर्ताहरूले स्थलगत निरीक्षण गरेका छन्। स्थलगत निरीक्षणमा इलाका प्रहरी कार्यालय चिमडीमा,नेकपा एमालेको बर्जु गाउँपालिका पार्टी कार्यालय र नेपाली कांग्रेसको बर्जु पार्टी कार्यालयमा क्षति, गढी गाउँपालिकाको कार्यालयमा सम्पूर्ण सामग्री जलेर नष्ट भई करोडौँको क्षति,गढी–१ र गढी–२ का वडा कार्यालय सम्पूर्ण सामग्री जलेर नष्ट भई करोडौँको क्षति, दुहबी नगरपालिकाको कार्यालयमा सम्पूर्ण कार्यालय सामग्री नष्ट भई ४ करोड भन्दा धेरै क्षति, दुहबीस्थित फरवार्ड सुपरमार्केटमा करिब ३ करोड ५० लाखभन्दा बढीको सामान चोरी तथा क्षति भएको बताइएको छ । स्थलगत निरीक्षणपछि नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीले शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै हिंसा, आगजनी र लुटपाटको तीव्र भत्र्सना गर्नुभयो । नेकपा (एमाले) पोलिटब्युरो सदस्य भीम आचार्यले अराजक तत्वहरूले आन्दोलनको नाममा गरिएका तोडफोड, आगजनी र लुटपाट प्रति कडा आपत्ति जनाउनु भयो । त्यसैगरी उहाँले स्थानीय नागरिक, पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई संयमित रहन र शान्तिपूर्ण ढंगले समस्या समाधानतर्फ उन्मुख हुन आह्वान गर्नुभएको छ । यसैबीच, आगलागीले नष्ट भएका सरकारी तथा निजी सम्पत्तिको क्षति अर्बौंमा पुग्ने अनुमान गरिएको छ ।


