इटहरी । महाकुलुङ गाउँपालिकामा जेन्जी आन्दोलनपछि पर्यटन प्रवद्र्धनलाई नयाँ ऊर्जा दिने उद्देश्यले “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ू सम्बन्धी छलफल गरिएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, ट्रेकिङ एजेन्सीज् एसोसिएशन अफ नेपालका कोषाध्यक्ष लाक्पा शेर्पा सहितका पर्यटन व्यवसायीहरूको उपस्थितिमा सो छलफल भएको हो । संस्थातर्फबाट सचिव युवराज नाछिरिङ राई र सदस्य वीरबहादुर राईले विस्तृत प्रस्तुति दिनुभएको थियो । छलफलमा यही डिसेम्बरको अन्तिमतिर महाकुलुङमा “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” को भव्य समापन गर्ने तयारीबारे विचार–विमर्श गरिनुका साथै सप्तकोशीदेखि सगरमाथाको फेदीसम्म फैलिने “ग्रेटर मुन्दुम ट्रेल” विकास गर्ने योजनाबारे पनि गहन छलफल भएको थियो । यसअन्तर्गत ट्रेकिङ म्याप निर्माण, आइटनरी तयार गर्ने, प्रचार–प्रसार गर्ने र पूर्वाधार विकास गर्ने कार्ययोजना अघि सारिएको छ । त्यसैगरी खुवालुङदेखि महाकुलुङसम्म “ग्रेटर मुन्दुम ट्रेल अल्ट्रारेस” आयोजना गर्ने प्रस्ताव राखिएको छ, जसबाट विश्व समुदायलाई यस ट्रेलबारे अवगत गराउने उद्देश्य लिइएको छ । साथै हाल सञ्चालनमा रहेको ट्रेल बेस् टुरिजम परियोजनालाई महाकुलुङ हुँदै सगरमाथा बेसक्याम्पसम्म विस्तार गर्ने विषयमा पनि सहभागीबीच गहन छलफल भएको जनाइएको छ । अध्यक्ष कुलुङले यस अभियानमा देखाएको विशेष चासोप्रति संस्थाको तर्फबाट धन्यवादसमेत प्रकट गर्नुभयो ।


