इटहरी । इटहरीका डिएसपी सुवास हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउने अभियान सुरु गरेको दाबी गर्नुभएको छ । भर्खरै सरुवा भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यभार सम्हाल्नुभएका डीएसपी सुवास हमालले शनिबार कार्यक्रममा बोल्दै विध्वंसमा संलग्नलाई कारबाही गर्न दुईमत नरहेको र सरकारी कार्यालय मात्र नभइ निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई पनि कानुन अनुसार कारबाही गरिने बताउनुभयो । साथै उनीहरूले स्थानीयवासीहरूलाई फोटो, भिडियो वा अन्य प्रमाणहरू ह्वाट्सएप, भाइबर वा इमेलमार्फत पठाउन सकिने बताउँदै, प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने सुनिश्चित गर्नुभयो । डीएसपी हमालले शान्ति–सुरक्षामा स्थानीयवासीको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै गस्तीमा जनसहभागिता बढाउने, अवैध गतिविधि नियन्त्रण गर्ने र सूचना दिने प्रणालीलाई सक्रिय बनाउने योजना समेत जानकारी दिनुभयो ।


