इटहरी । खोटाङका युवाहरुले यस वर्ष पनि ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएका छन् । आर्थिक अभाव वा यातायात सुविधाको अभावमा माइतीघर जान नसकेका चेलीलाई दसैँ र तिहारका अवसरमा माइतीघर पु¥याउने तथा फर्काउने उद्देश्यसहित निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको हो । अभियान संयोजक सञ्जयकुमार राईका अनुसार यस वर्षको अभियान असोज १६ देखि १९ गतेसम्म र तिहारमा कात्तिक ५ देखि ७ गतेसम्म सञ्चालन गरिनेछ । गत वर्ष सञ्चालन गरिएको अभियानबाट दुई चरणमा ४१५ जना चेलीले निःशुल्क सुविधा पाएको र यस वर्ष दोस्रो संस्करण अघि बढाइने जानकारी दिनुभयो । हालसम्म विभिन्न क्षेत्रमा संलग्न २५ जना युवाले स्वयंसेवकका रूपमा नाम दर्ता गराइसकेको र थप युवाहरु सहभागी हुनेक्रम जारी रहेको पनि राईले बताउनुभयो । अभियानका क्रममा मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड र जिल्लाका ग्रामीण सडक हुँदै ३५ किलोमिटरसम्म निःशुल्क सेवा उपलब्ध गराइनेछ । महिला, बालबालिका, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ भने आवश्यकता अनुसार पुरुषलाई समेत सहयोग गरिने बताइएको छ । यात्रुहरुले बढीमा पाँच किलोसम्म मात्र झोला तथा कोसेली बोक्न पाउने सर्त राखिएको छ । स्वयंसेवक बन्न इच्छुक युवासँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र बिलबुक अनिवार्य हुने व्यवस्था गरिएको छ । युवा समूहले सञ्चालन गर्ने अभियानमा होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर र साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएका छन् भने स्थानीय व्यवसायी, महिला उद्यमी सङ्घ खोटाङ र शुभम् फाउण्डेशनले गत वर्षझैँ यस वर्ष पनि आर्थिक तथा भौतिक सहयोग गर्ने जनाइएको छ ।


