इटहरी ।  चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका १३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन् । सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका ७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ । सुनसरीको दुहबी नगरपालिका ५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आउनुभएको छ । उहाँले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेको  जानकारी दिनुभयो ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०८१ र ८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो । प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताउनुभयो । धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन् । यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।