इटहरी । बडा दशैंको सातौं दिन सोमबार मोरङका विभिन्न स्थानमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । विराटनगरको जिल्ला अदालत प्रांगणबाट बाजागाजासहित सुरु भएको धार्मिक ¥यालीले फूलपाती बर्ढाई गर्दै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी दलले दशैघरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेका थिए । दशैघरमा राखिने परम्पराअनुसार उखु, अदुवा, बेलपत्र, दारिम, अशोक फूललगायतका नवपत्रिका फूलपाती भित्र्याइएको हो । यसैबीच मोरङका विभिन्न शक्तिपीठमा पूजाआजाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ । विराटनगरको ऐतिहासिक काली मन्दिरमा सयौं भक्तजनले पूजा आराधना गरेका छन् फूलपातीसँगै शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनहरूको भीडभाड बढ्ने परम्परा रहँदै आएको छ ।


