इटहरी | स्टुडेन्ट्स फर लिबर्टीले इटहरीस्थित लुनार आईटी सोलुसन्समा ‘मानव सम्मान’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

१६ देखि ३० वर्ष उमेर समूहका २२ जना युवाको सहभागिता रहेको कार्यक्रममा बलजफ्तिभन्दा प्रेरणा र राजीखुसीलाई प्रवर्द्धन गरेर सम्मानपूर्वक जीवन जिउने कला तथा खुसी समाज निर्माणका उपायबारे विस्तृत छलफल गरिएको थियो।

सत्रलाई रोचक बनाउन स्वतन्त्रता बिङ्गो खेल, मानव सम्मानका सिद्धान्तबारे प्रस्तुति, पुरस्कारसहितका गतिविधि र “मानव सम्मानको शक्ति : राजीखुसीको रोजाइ, बलजफ्तिको अस्वीकार” शीर्षकमा समूह छलफल गरियो।

कार्यक्रमअघि र पछि गरिएको मूल्याङ्कन (प्रि–पोष्ट टेस्ट) मा प्राप्त सकारात्मक नतिजाले सिकाइको प्रभावकारिता प्रस्ट भएको आयोजकले जानकारी दिएका छन्। सहभागीहरूले दैनिक जीवन र नेतृत्वमा सम्मानलाई आत्मसात् गर्ने प्रेरणा पाएको प्रतिक्रिया दिएका थिए।

एकदिने यस कार्यक्रममार्फत युवाहरूले स्वतन्त्रतालाई प्राकृतिक सिद्धान्तका रूपमा बुझ्ने मात्र नभई, प्रेरणादायी र मानवकेन्द्रित मूल्य–मान्यतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने ज्ञानसमेत हासिल गरेका थिए।