इटहरी । हालै भएको जेन्जी आन्दोलनका क्रममा अराजक तत्वहरूले घुसपैठ गरी देशका विभिन्न संरचना, सार्वजनिक निकाय र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरेका छन् । सुनसरी जिल्लामा मात्रै करोडौँ रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । सो घटनापछि नेकपा (एमाले) स्थायी कमिटि सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, इटहरी उपमहानगर कमिटि अध्यक्ष रुपेस बस्नेत, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी, सचिव मदन कार्की, उपसचिव रन्जु सिग्देल लगायत स्थानीय नेताकार्यकर्ता र युवाहरूले क्षतिको स्थलगत अवलोकन गरेका छन् । निरीक्षण गरिएका स्थानहरूमा नेकपा एमाले इटहरी उपमहानगर कमिटिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, नेपाली कांग्रेस इटहरी उपमहानगर कमिटिको कार्यालय, इटहरी उपमहानगरपालिकाको कार्यालय, पूर्व क्षेत्रीय ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय लगायतका निकाय रहेका छन् । साथै इटहरी उपमहानगर वडा नं ८, ९, ११, १२, १४ र १५÷१६ का वडा कार्यालयहरू पनि अनुगमन गरिएको हो । स्थानीय स्तरमा तत्काल आवश्यक पहल गरेर जनतालाई सेवा दिन सकिने कार्यमा सहयोग गर्ने प्रतिबद्धता एमाले स्थायी कमिटि सदस्य भीम आचार्यले व्यक्त गर्नुभयो । त्यस्तै, विकास र पुनर्निर्माणका लागि केन्द्रमा आवश्यक पहल गर्ने केन्द्रीय सदस्य भगवती चौधरीले बताउनुभयो।स्थलगत अवलोकन पछि एमाले नेताहरूले घटनाबारे कडा आपत्ति जनाउँदै तोडफोड र आगजनीमा संलग्न दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन माग गरेका छन् ।