इटहरी । बुढीगङ्गा गाउँपालिकामा हरेक सोमबार लाग्ने साप्ताहिक हटियाको दिन सडक नै अवरुद्ध हुने समस्या रहेको छ । हटियाका कारण प्रमुख सडकखण्डमा भीडभाड बढ्दा सवारी सञ्चालनमा कठिनाइ हुने र सडकमै व्यापार गरिने भएकाले सवारी दुर्घटनाको जोखिम समेत उच्च छ । स्थानीय निकायले हटिया व्यवस्थापनमा चासो नदिएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले केही समय अघि गाउँ प्रहरी भर्ना गरे पनि हटिया व्यवस्थापनमा उनीहरूको उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ । गाउँ प्रहरीको प्रमुख जिम्मेवारी मध्ये हटिया र सार्वजनिक स्थलहरूको व्यवस्थापन पनि पर्छ तर हालसम्म उनीहरूको सक्रियता देखिएको छैन । स्थानीयवासीहरूले हटिया छुट्टै स्थानमा व्यवस्थित रूपमा सञ्चालन गर्न माग गर्दै आएका छन्। साथै, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि पालिका तथा प्रहरी प्रशासनसँग तत्काल पहल गर्न अनुरोध गरिएको छ ।


