इटहरी । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमक झापाको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । सोमबार फूलपातीको अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिना सहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले स्वागत गर्नुभएको थियो । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरु समेत लुटिएको थियो । लुटिएका हतियार लगायत सामानहरु अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरु सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगजनीपछि सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अग्र्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो । ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोग स्वरुप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताउनुभयो ।