इटहरी । जेनजी आन्दोलनपश्चात् क्षतिग्रस्त कार्यपालिकाको भवनमै सोमबार इटहरी उपमहानगरपालिकाको १५० औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन चारवटा महत्वपूर्ण निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो । निर्णय अनुसार शान्ति–सुरक्षा सुदृढ गर्न इलाका प्रहरीलाई उपयुक्त स्थानमा पुनः व्यवस्थित गरिने छ । सोही स्थानबाट ट्राफिक प्रहरी मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने निर्णय समेत गरिएको छ । यसले इटहरीभित्रको भिडभाड नियन्त्रण, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, नगरको सुरक्षालाई प्राथमिकता दिँदै अत्यावश्यक दमकल खरिद गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय भएको छ । आन्दोलनका क्रममा उपमहानगरको दमकल सहित मेयर बस्ने भवन र अन्य भौतिक संरचनामा आगजनीले क्षति पु¥याएको स्मरण गर्दै तत्काल नयाँ दमकल खरिद आवश्यक भएको बैठकले निष्कर्ष निकालेको हो । बैठकले नगरवासीलाई शान्ति र सुरक्षामा सहकार्य गर्न आह्वान समेत गरेको छ ।


