इटहरी । हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको अवसरमा विराटनगरका विभिन्न स्थानमा दुर्गा भवानी सहितका देवी–देवताको माटोको मूर्ति स्थापना गरी आकर्षक मण्डप सजाइएको छ । एक मण्डप बनाउन करिब पाँच लाख देखि साढे १२ लाख रुपैयाँसम्म खर्च भएको बताइएको छ । यसपटक विराटनगरको करिब ३ किलोमिटर क्षेत्रभित्र मात्रै डेढ दर्जनभन्दा बढी मण्डप निर्माण गरिएको छ । यसरी सजाइएका मण्डपमा दर्शन गर्न आउने भक्तजनले विश्वासका साथ पूजा गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति आउने धारणा राखेका छन् । मण्डप निर्माणमा नेपालका भन्दा पनि भारतीय मिस्त्रीलाई बढी रोजाइमा पारिएको छ । मूर्ति निर्माण देखि बिजुली तथा सजावट सम्म भारतीय मिस्त्री मार्फत हुने भएकाले नेपालबाट संकलित लाखौँ रुपैयाँ हरेक वर्ष भारत पठाउनुपर्ने बाध्यता रहेको आयोजकहरुले जनाएका छन् । सप्तमी देखि विजयादशमी सम्म जम्मा चार दिनका लागि मात्र मण्डप स्थापना गरिने भए पनि खर्च भने अत्यधिक हुने गरेको छ । अनावश्यक प्रतिस्पर्धा र ठूला–ठूला मण्डप बनाउने होड सँगै पूजाआजाका नाममा चन्दा संकलनको प्रवृत्ति समेत बढ्दै गएको छ । केही वर्षअघि सम्म मात्र चारवटा प्रमुख स्थानमा ठूला मण्डप निर्माण हुने गरे पनि पछिल्ला वर्षमा यसको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष मात्र करिब एक करोड रुपैयाँ बराबरको लगानीमा डेढ दर्जन मण्डप निर्माण भएको अनुमान गरिएको छ ।


