धनकुटा | अविरल वर्षाका कारण धनकुटाको मुलघाट–नमस्ते झरना आसपासको क्षेत्रमा ठूलो पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग अबरुद्ध भएपछि धनकुटातर्फ जाँदै गरेका यात्रुहरू बाटैमा अलपत्र परेका छन्। धरान–धनकुटा सडक पूर्ण रूपमा बन्द हुँदा बस, जीप तथा मालबाहक गाडीहरू भेडेटारमै रोकिएका छन्। दशैं नजिकिँदै गर्दा घर फर्कन लागेका यात्रुहरू सडक अवरोधका कारण ठूलो मर्कामा परेका छन्।
स्थानीय प्रशासनले थप पहिरो खस्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
यसैबीच, वर्षाको कारण धनकुटाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ जसमा मध्य पहाडी लोकमार्ग – पाख्रिबास नगरपालिका–५ डिकुरे र वडा नं. ४ पाख्रिबासमा पहिरो झरेर दुई ठाउँमा बाटो अवरुद्ध भएको,
कोशी लोकमार्ग – साँगुरीगढी–१ का चनौटे, घण्टे र सिमसुवा गरी तीन स्थानमा पहिरो खसेर आवागमन रोकिएको , रवि–राके निर्माणाधीन सडक – साँगुरीगढी–५ लुम्फाजुङ, पहिरो र वालुवाखानी क्षेत्रमा सडक क्षतिग्रस्त र तमोर करिडोर – चौविसे गाउँपालिका–४ छरुवा खोलामा बाढी आएर सडक अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै सडक अवरोधले जिल्लाभर आवागमनमा कठिनाइ बढाएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


