सुनसरी | महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती तथा शुभ दीपावली २०८२ को अवसरमा ‘पूर्वेली साहित्यिक मञ्च’ द्वारा आयोजित “चौथो कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता–२०८२” मा सहभागी हुनका लागि कविहरूलाई आफ्ना मौलिक कविता पठाउन आह्वान गरिएको छ।

वराहक्षेत्र नगरपालिका, चक्रघट्टी स्थित मञ्चले आयोजना गर्न लागेको यो प्रदेशस्तरीय प्रतियोगिताको उद्देश्य प्रदेशभित्रका प्रतिभावान् कविहरूलाई प्रोत्साहन गर्नु र नेपाली भाषामा मौलिक सिर्जनालाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने कविले नगद १२ हजार, दोस्रोले ७ हजार, तेस्रोले ४ हजार र सान्त्वना प्राप्तकर्ताले २ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट २० कविहरूलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ।

मञ्चका अध्यक्ष सन्तोष चौलागाईंका अनुसार कविता मौलिक, नेपाली भाषामा लेखिएको र २५० शब्दभन्दा कमको हुनुपर्नेछ। प्रत्येक कविले एक मात्र कविता पठाउन पाउने छन्। कविता पठाउने अन्तिम मिति २०८२ असोज २८ गतेसम्म रहेको छ।

छनोटमा परेका २० कविहरूलाई फाइनल चरणमा वाचनका लागि आमन्त्रित गरिनेछ भने अन्तिम नतिजा निर्णायक मण्डलको निर्णयअनुसार हुनेछ। प्रतियोगिताको फाइनल कार्यक्रम २०८२ कार्तिक ४ गते मंगलबार (गाई तिहारका दिन) वराहक्षेत्र नगरपालिका, चक्रघट्टीमा आयोजना हुने मञ्चले जनाएको छ।

कविता पठाउनका लागि इच्छुकले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी [email protected] वा [email protected] मा पठाउन सक्नेछन्। साथै ‘Purweli Sahitiyk Manch Chakraghatti’ को फेसबुक पेजमा सन्देशमार्फत पनि कविता पठाउन सकिनेछ।

थप जानकारीका लागि अध्यक्ष सन्तोष चौलागाईं (९८०४३५९९२२) वा उपाध्यक्ष जीवन सापकोटा (९८४२१९७६२१) सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।