बिराटनगर, मोरङ /  हालैको निरन्तर वर्षाका कारण इलाम जिल्लाका मङ्सेवुङ गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न क्षेत्रहरू बाढी–पहिरोबाट प्रभावित भएका छन्। उक्त विपद्‌का कारण जनधनको समेत क्षति भएपछि मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा तत्कालीन त्यसै क्षेत्रबाट अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र अन्य राहत सामग्री समेत पठाउने तयारी गरिएको हो।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले विपद् व्यवस्थापन तथा राहतका लागि समन्वय गर्दै हिजो नै राहत सामग्री पठाउने तयारी भए पनि इलाम क्षेत्रमा मौसम अत्यधिक प्रतिकूल रहँदा आजमात्रै सामग्री पठाउन सम्भव भएको बताए ।

IMG-20251007-WA0021

सडक अवरुद्ध रहेकाले प्रारम्भिक चरणका राहत सामग्रीहरू हेलिकप्टरमार्फत प्रभावित क्षेत्रहरूमा पुर्‍याइएको बताइएको छ। साथै, सडक संजाल सञ्चालनमा आएपछि थप राहत सामग्री स्थलगत रूपमा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री कार्कीले भने,“विपद्‌का बेला कुनै नागरिक असहाय हुन नपरोस् भन्ने हाम्रो प्राथमिकता हो। सरकार सबै प्रभावित नागरिकको साथमा छ।”

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले थप्दै भने “प्रतिकूल मौसमका बाबजुद पनि हामीले राहत कार्यमा कुनै ढिलाइ हुन नदिने प्रयास गरिरहेका छौं। प्रशासन, सुरक्षाकर्मी र स्थानीय तह सबै एकताबद्ध भएर काम गरिरहेका छन्।”

प्रदेश सरकारका अनुसार रेड क्रस लगायतका सामाजिक संघसंस्थाहरूको सहकार्यमा खाना, लत्ता, कम्बल, औषधि लगायतका आधारभूत राहत सामग्री समावेश छन्।