सुनसरी | हालैको अविरल वर्षाका कारण सुनसरीसहित देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोका घटनाले व्यापक जनधनको क्षति पुर्याएकोप्रति तरूण दल, सुनसरीले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

एक विज्ञप्तिमार्फत दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तुरुन्तै प्रभावकारी कदम चाल्न जोडदार माग गरेको छ। साथै, विपद् व्यवस्थापनमा संलग्न सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई थप सक्रियता र समन्वयका साथ कार्य गर्न पनि अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आजको दिनमा पीडितहरूप्रति समवेदना प्रकट गर्नु मात्र पर्याप्त हुँदैन, प्रत्येक नागरिकले सकेको सहयोग गर्नुपर्ने समय हो।”

तरूण दल, सुनसरीले सबै स्थानीय तह, संघसंस्था, दातृ निकाय, समाजसेवी र आम नागरिकहरूलाई मानवीय भावनाबाट प्रेरित भई राहत र सहयोग अभियानमा सहभागी हुन आह्वान गरेको छ।

दलका अध्यक्ष सिजन गुरूङले विपद्को यस कठिन अवस्थामा एकता, सहकार्य र मानवीय सहानुभूतिका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्दै, तरूण दल स्वयं पनि विपद् व्यवस्थापन र राहत कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।1759826005016