काठमाडौं | नेपाली फिल्म ‘माइतीघर’ ले प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरिरहेको छ । बडादशैंको फूलपातीका दिनबाट प्रदर्शनमा आएको फिल्मले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ दुवै पाउँदै आफ्नो प्रदर्शनलाई अझ बलियो बनाएको छ । दशैंपछिको समयसँगै फिल्मको व्यापार झनै उचाइमा पुगेको बताइन्छ ।
विशेषगरी मंगलवार नेपालगञ्जमा ‘माइतीघर’ ले बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्, जसले दर्शकबीच फिल्मप्रतिको उच्च उत्साह झल्काएको छ । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमवार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार हलमा पुगेका धेरै दर्शकहरूले टिकट पाउनै सकेनन् ।
नेपालगञ्ज पुगेका कलाकारहरू केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल र निर्देशक मिलन तामाङलाई स्थानीय दर्शकहरूले भव्य स्वागत गरेका थिए । त्यस्तै, नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरी हलमा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाएको निर्माता अधिकारीको भनाइ छ ।
देशभर फिल्मको व्यापार सुखद गतिमा अगाडि बढिरहेको र बलियो वर्ड अफ माउथ ले प्रदर्शनलाई अझ मजबुत बनाइरहेको अधिकारीले बताएका छन् । यद्यपि आधिकारिक व्यापारिक तथ्याङ्क सार्वजनिक नभए पनि फिल्म हलहरूमा देखिएको दर्शकको उत्साहले ‘माइतीघर’ को सफलताको संकेत स्पष्ट देखाउँछ ।
मिलन तामाङ निर्देशित यस फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङदेललगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ ।


