भोजपुर | “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गोगनेमा आयोजना हुने भएको छ।

युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउँदै सामाजिक विकृति र विसंगतिलाई अन्त्य गरी आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले खेलकुद विकास समिति, गोगनेले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिता आगामी  असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिता विद्येश्वर माध्यमिक विद्यालय, गोगनेको खेलमैदानमा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु. ४१,१११, रु. २५,५५५ र रु. १५,५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिब्रो र उत्कृष्ट सेटरलाई पनि ट्रफि, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

खेल नकआउट प्रणालीमा खेलाइनेछ र हरेक टिममा नौ खेलाडी र एक प्रशिक्षक सहित जम्मा दस जना रहनेछन्। खेलाडीले अनिवार्य रूपमा जर्सी र खेलकुद जुत्ता लगाउनुपर्नेछ। खेलाडीहरूको खानेबस्ने व्यवस्था आफ्नै जिम्मेवारीमा रहनेछ।

आयोजकले खेलमा निष्पक्षता कायम गर्न रेफ्री तथा निर्णायक मण्डलको निर्णयलाई अन्तिम मानिने जनाएको छ। खेलाडीले परिचय खुल्ने कागजात पेश गर्नुपर्ने र बसाइँसराइको सिफारिस मान्य नहुने पनि आयोजकले स्पष्ट पारेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले २०८२ असोज २८ गते बेलुका ८  बजेसम्म रु. २,९९९ दर्ता शुल्क बुझाई नाम दर्ता गराउन सक्नेछन्। खेलको टाइसेट असोज २९ गते बिहान १०:०० बजे प्रकाशित गरिनेछ।

कार्यक्रमका संयोजक अध्यक्ष बुद्धिमान मास्के (९७४९२०१४३६) र सदस्य सरोज श्रेष्ठ (९७००३०६७६६) मार्फत सम्पर्क गरी थप विवरण बुझ्न सकिने आयोजक समितिले जानकारी दिएको छ।