इटहरी। गएको असोज १८ गते रातीको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुरु गरेको छ । डिभिजन कार्यालयका प्रमुखसहित इन्जिनियरहरुको टोली अहिले माइखोलामै छन् । माथिबाट पुनः पहिरो खस्छ कि भन्ने त्रासका बीच पनि कार्यालयले स्काभेटर सञ्चालन गरेको छ । राजमार्गको राजदुवालीस्थित माइखोलामाथि पहिरो खरेपछि यो क्षेत्रमा भने यात्रुुहरु पैदल नै हिंडिरहेका छन् । इलाम सदरमुकामतर्फ आउने यात्रुुहरु माइखोलादेखि पहिरो खसेको क्षेत्रलाई पैदल पार गरेर पहिरोभन्दा माथिको भागबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् । यस्तै इलाम सदरमुकामबाट झापातर्फ जाने यात्रुहरु पनि पहिरो माथिसम्म एउटा सवारी र माइखोला पारिबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् ।