रामधुनी– सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ६ मैनि मा  एक अत्यन्तै दुखद र मार्मिक घटना घटेको छ। आर्थिक अभावको कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेको एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले ठूलो सहयोग गर्नुभएको छ।

निरज रिसिदेब र उनकी श्रीमती मन्जल रिसिदेबको कोखबाट जन्मिएको नवजात बच्चाको बिराटनगर स्थित बिराट नरसिंह होस्पिटलमा उपचारक्रममै मृत्यु भएको थियो। बच्चाको जन्म र उपचारको क्रममा नै परिवारको आर्थिक स्थिति नाजुक भएपछि मृतक शिशुलाई घर ल्याउन असमर्थ थिए।

यस्तो विषम परिस्थितिमा समाजसेवी दिनेश श्रेष्ठले रिसिदेब परिवारलाई सहयोग गर्ने ठूलो पहल गर्नुभयो। उनको पहलमा नगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। यसैगरी, अस्पतालतर्फ केही रकम छुट दिइएपछि श्रेष्ठले आफ्नै खर्चमा ६६ हजार रुपैयाँ खर्च गरी मृतक बच्चालाई अस्पतालबाट उक्त परिवारको घरसम्म पुर्याउनुभयो र अन्त्येष्टिको व्यवस्था गर्नमा सहयोग पुर्याउनुभयो।IMG-20251009-WA0026

यस सम्बन्धमा समाजसेवी दिनेश श्रेष्ठले भन्नुभयो, "यो अत्यन्तै दुखद घटना हो। रिसिदेब बस्ति अझै पनि गरिबीको चपेटामा छन्। यिनीहरूलाई कुनै समस्या परेमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ। उनीहरूले निकै अभाव झेलिरहेका छन्। त्यसकारण, रिसिदेब बस्तिका बासिन्दाहरूको समस्यामा स्थानीय निकाय लगायत सम्बन्धित सबै निकायको सहयोग अत्यावश्यक रहेकाे र स्थानीय सरकार र सम्बन्धित निकायहरूबाट यस्ता सीमान्तीकृत र गरिबीको रेखामुनि बच्चिरहेका परिवारहरूप्रति विशेष ध्यान दिन आह्वान गर्नुभएको छ।