इटहरी । तमोर कोरिडोर पाँच दिन पछि सञ्चालनमा आएको छ । कोरिडोरको धनकुटामा पर्ने छरुवा खोला तथा धनकुटा र पाँचथरको सिमानामा पर्ने नावासहित विभिन्न खोलामा निर्माण गरिएको डाइभर्सन बगाउनुको साथै केही स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको हो । वर्षा रोकिएसगैँ सोमबारबाट धनकुटा र पाँचथर दुवै तर्फबाट सडक सञ्चलनको लागी अवरोध हटाउन सुरु गरिए पनि बुधवार साँझ मात्र पुरा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । सडक बुधबारबाट सञ्चालनमा आए पनि बिहीबार बिहानबाट मात्र पूर्णरूपमा सवारी साधन चल्न थालेका थिए । सडक सञ्चालनमा आएसँगै कोरिडोर क्षेत्रका करीडोर क्षेत्रका धनकुटा र तेह्रथुमवासी सहित पाँचथर र ताप्लेजुङ तथा उत्तरी इलामका बासिन्दालाई समेत सहज भएको छ । तमोर कोरिडोर तथा मेची राजमार्ग बाढीले अवरुद्ध बनाएपछि सो क्षेत्र तराईसँगको यातायात सम्पर्क टुटेको थियो । तमोर कोरिडोरका खोलामा पुल नबन्दा सडक पटक पटक अवरुद्ध हुने गरेको धनकुटा चौबिसकोका स्थानीय महेन्द्र न्यौपानेले बताउनुभयो । अलिकति ठुलो पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने समस्या हुने गरेको उहाँको भनाइ छ । तमोर कोरिडोर धनकुटा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्ला लाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यो सडक हुँदै दैनिक दुई सय बढी सवारी साधन सञ्चालन हुने गरेका छन् ।


