इटहरी । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट इलाम जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेकपा (एमाले) निकट भातृ संगठन युवा संघ नेपालले राहत वितरण अभियान सुरु गरेको छ । बुधबार संगठनका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले इलामको माइ नगरपालिका–७ चेप्टी गाउँमा राहत वितरण आरम्भ गरेको हो । सो गाउँ बाढीपहिरोले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ, जहाँ करिब ७० घरपरिवार बासस्थान गुमाएर विस्थापित भएका छन् । राहतस्वरूप संघले प्रत्येक परिवारलाई एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मरमसला, पीभीसी, म्याट, लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता–चप्पल र त्रिपाल वितरण गरेको छ । संघका अनुसार बाढीपहिरो प्रभावित इलामका सबै स्थानीय तहहरूमा क्रमशः राहत वितरण अभियान विस्तार गरिने तयारी भइरहेको छ ।