इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ मैनि टोलमा नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेका एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेका निरज ऋषिदेब र उहाँकी श्रीमती मन्जल ऋषिदेबको परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्दै मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । मन्जल ऋषिदेबको कोखबाट जन्मिएको नवजात शिशुको बिराटनगरस्थित बिराट नरसिंह अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उपचार खर्च र अस्पताल शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका ऋषिदेब दम्पती सँग मृतक शिशुको शव घर ल्याउने सम्मको खर्च समेत नभएको अवस्थामा समाजसेवी दिनेश श्रेष्ठले सहयोगका लागि पहल गरेपछि  नगरपालिकाबाट १५ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । साथै, अस्पतालले केही शुल्क छुट गरेपछि श्रेष्ठले थप ६६ हजार रुपैयाँ थप गरी मृतक शिशुलाई अस्पतालबाट घरसम्म पु¥याई अन्त्येष्टिको सम्पूर्ण व्यवस्था गर्न सहयोग गर्नुभएको हो । श्रेष्ठले ऋषिदेब बस्ती अझै पनि गरिबीको चपेटामा रहेकाले यस समुदायलाई समस्या परेमा आर्थिक अभावकै कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले आफूले सकेको सहयोग गरेको बताउनुभयो । उहाँले स्थानीय निकाय र सम्बन्धित सरकारी संस्थाहरूले यस्ता सीमान्तीकृत परिवार प्रति विशेष ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो  । स्थानीयवासीहरूले समाजसेवी दिनेश श्रेष्ठको यो कार्यको प्रशंसा गर्दै यस्तो मानवीय सहयोगले समाजमा संवेदना, एकता र सहानुभूतिको भावना जगाउने विश्वास व्यक्त गरेका छन्।