इटहरी | इटहरीमा खुल्न लागेको ‘नेपाली जुत्ता घर’ को सञ्चालनमा अवरोध नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालतका न्यायाधीश गणेश ठाकुर र कैलाश गुरुङको संयुक्त इजलासले निवेदक मात्रीका प्रसाद नेपालको तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै पसल सञ्चालनमा अवरोध नगर्न आदेश दिएको हो। अदालतले दुवै पक्षसँग छलफल गरी यही असोज २२ गतेसम्म पसल सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन आदेश दिएको छ।
नेपालले नेपाली जुत्ता उद्यमी समूह प्रा. लि. सँग सहकार्यमा सस्तो दरमा जुत्ता–चप्पल बिक्री गर्ने उद्देश्यले पसल सञ्चालन गर्न लागेका थिए। तर, इटहरी उपमहानगरपालिकाको नगर प्रहरीले पसलमा हस्तक्षेप गरी सामान जफत गरेपछि विवाद उत्पन्न भएको थियो।
त्यसपछि उद्योग वाणिज्य सङ्घ, इटहरी ले समेत पसल सञ्चालनमा रोक लगाएको थियो। उक्त घटनापछि नेपालले उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।
रिटमा विपक्षीका रूपमा इटहरी उपमहानगरपालिका कार्यालय, मेयर हेमकर्ण पौडेल, नगर प्रहरी प्रमुख जिबी राई र उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली रहेका छन्।
गत भदौ २४ गते नै आदेश आउने भनिए पनि जेनजी आन्दोलनका कारण अदालतमा भएको आगजनी र तोडफोडपछि सुनुवाइ स्थगित भएको थियो।
नेपाली उद्योगबाट उत्पादन भएका जुत्ता–चप्पललाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु हुन लागेको पसलले सस्तो मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो। तर, स्थानीय व्यापारीहरूले प्रतिस्पर्धाको डर देखाउँदै विरोध जनाएका थिए। व्यापारीको दबाबपछि उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घले पसल सञ्चालनमा अवरोध गरेका थिए।


