इटहरी। झापाको दमकमा एक ब्यक्तिको शव फेला परेको छ । दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार बिहान स्थानीयले टिनको छानो भएको पशु राख्ने टहरामा रहेको गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि स्थानीयले नजिकै रहेको इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । हरेक बुधबार साप्ताहिक रुपमा दमकको पशुहाटमा पशुबजार लाग्ने गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार ५० देखि ५५ वर्षका उमेरजस्तै देखिने पुरुष मृत फेला परेको पहिचान खुल्न सकेको छैन । उहाँका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरेकोजस्तो देखिन्छ । शवको पहिचान र घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको तिम्सिनाले बताउनुभयो । यसैबिच करिब एक सातादेखि बेपत्ता रहनु भएको एक युवाको शव सडेगलेको अवस्थामा फेला परेको छ । मेचीनगर वडा १ देवीगन्ज बस्ने २५ वर्षीय सुजन राजपूतको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । असोज १७ गतेदेखि बेपत्ता राजपूतको शव मेचीनगर –१ स्थित सिता पाण्डेको धान खेतमा विहीबार अपरान्ह फेला परेको हो ।