इटहरी । केही समयदेखि बन्द रहेको सुनसरी जिल्ला अदालतका नियमित काम–कारवाही असोज २६ गते आईतबार देखि पुनः सुरु हुने भएका छन्। गत भाद्र २४ गतेको जेनजी आन्दोलनका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो । यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल प्रणाली मार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको छ । अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइनेछ । सुनसरी अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्गले जारी गर्नुभएको सूचनामा अदालतले सेवा प्रवाहका लागि आवश्यक तयारी पूरा गरेको र असोज २६ गतेदेखि म्यानुअल रूपमा पेशी सूची प्रकाशन गरिने तथा मुद्दाको सुनुवाइ नियमित रूपमा सञ्चालन हुने बताइएको छ । अदालतको सेवाहरू लामो समयदेखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए । नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए ।


