सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित रामधुनी प्रकाशपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक कार्ययोजना तथा बजेट नीति निर्माण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा वन उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कार्यकारी सचिव, सदस्यहरू, कर्मचारीहरू साथै स्थानीय समाजसेवी, शैक्षणिक र बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्ययोजना निर्माण कार्यमा चन्द्रप्रसाद सिक्देलले प्रोजेक्टरको माध्यमबाट सहजकर्ता (फ्यासिलिटेटर)का रूपमा सहजीकरण गर्नुभएको थियो।
यो वर्ष सामुदायिक वनले पहिलोपटक प्रविधिमैत्री र पारदर्शी ढङ्गले कार्ययोजना र बजेट नीति तयार पारेको हो। सबैको राय, सल्लाह र सुझावलाई प्रोजेक्टरमार्फत प्रस्तुत गरी सामूहिक सहमतिको आधारमा नीति निर्माण गरिएको समितिले जनाएको छ।
समूहकी अध्यक्ष संगीता किरातीले वनको संरक्षण र विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी वर्षका कार्यक्रमहरू अघि बढाइने बताउनुभयो। उहाँले आफ्नो पदमा रहँदा कुनै तलब वा भत्ता नलिई स्वेच्छिक रूपमा सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
अध्यक्ष किरातीका अनुसार, आगामी योजनामा बिरुवा उत्पादन, वृक्षारोपण, आगो नियन्त्रण रेखा निर्माण तथा मर्मत, तारबार र जैविक घेराबारा, नमुना वन व्यवस्थापन, पर्यटन विकास, आयमूलक कार्यक्रम, तालिम, गोष्ठी, अवलोकन भ्रमण, जनचेतनामूलक कार्यक्रम र सीप विकास जस्ता क्रियाकलापहरूलाई प्राथमिकतामा राखिएको छ।
उहाँले वनको संरक्षणसँगै स्थानीय समुदायको आर्थिक सशक्तीकरण र वातावरणीय सन्तुलनमा योगदान पुर्याउने लक्ष्य रहेको समेत बताउनुभयो।



