इटहरी। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले देशलाई राजनीतिक स्थायित्व र समाधानको बाटोमा अघि बढाउन जेनजी आन्दोलनका प्रतिनिधिहरू समेत सम्मिलित सर्वदलीय सरकार गठन अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार संखुवासभाको खाँदबारीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले हालको आन्दोलनमा जेनजीका तर्फबाट उठाइएका मागहरूलाई संवैधानिक प्रक्रिया र राष्ट्रिय सहमतिको माध्यमबाट मात्र सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो । गौतमका अनुसार, जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढेको भए पनि केही घुसपैठकर्ताहरूले आगजनी र तोडफोड गरी आन्दोलनलाई बदनाम गर्न खोजेका छन् । उहाँले देशमा शान्ति, स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन राजनीतिक एकता र सहकार्य अपरिहार्य रहेको औंल्याउनुभयो । उहाँले अहिलेको संवैधानिक व्यवस्थाको सुदृढीकरण र नयाँ राजनीतिक सहमतिको सुरुवातले मात्र देशले दीर्घकालीन स्थायित्व र विकासको दिशा पाउन सक्नेमा जोड दिनुभयो ।


