इटहरी। पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युतको पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो ।  वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ । विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् ।