इटहरी । जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा व्यापक तोडफोड र आगजनी भएको छ। घटनामा प्रशासनिक भवनभित्र रहेका विभिन्न महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् भने केही कागजातहरू बाहिर छरपस्ट अवस्थामा फेला परेका छन्।

प्रदर्शनकारीहरूको भीडले नगरप्रवेशद्वार तोड्दै कार्यालय परिसरमा प्रवेश गरी ढोका, सिसा र फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए। आगलागीका कारण राजश्व शाखा, लेखा शाखा, भवन निर्माण स्वीकृति शाखा र नागरिक अभिलेख शाखाका धेरैजसो फाइल र अभिलेख पूर्ण रूपमा जलेका छन्।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि आगलागीको तीव्रता अत्यधिक भएको कारण केही मिनेटमै अधिकांश अभिलेख र उपकरण ध्वस्त भएका थिए।

स्थानीय सेवाग्राही अभिषेक तिम्सिनाका अनुसार, “काम लाग्ने कागजातहरू व्यवस्थापन नगरे थप क्षति हुन सक्ने देखिन्छ।”

त्यस्तै, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पनि सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले भने “यो घटना अत्यन्तै दुःखद र निन्दनीय छ। नगरवासीका महत्वपूर्ण अभिलेख र सार्वजनिक सम्पत्तिमा यसरी आगजनी गर्नु कानुनी रूपमा गम्भीर अपराध हो।” उनका अनुसार उपमहानगरपालिकाले तत्काल क्षति मूल्यांकन समिति गठन गरी जलेका कागजातहरूको सूची तयार गर्ने र सम्भव हुने अभिलेख पुनःस्थापना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

आगलागीका कारण जग्गा धनीपुर्जा प्रतिलिपि, भवन स्वीकृति नक्सा, राजश्व तथा कर सम्बन्धी अभिलेखहरू समेत क्षतिग्रस्त भएको अनुमान गरिएको छ। यद्यपि, पूर्ण क्षतिको विवरण अझै सार्वजनिक गरिएको छैन।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ र सीसीटीभी फुटेजको विश्लेषणमार्फत तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको छ। प्रहरीले भनेको छ, “जो कसैले पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य गर्छ, उनीहरू कानूनी कारबाहीको दायरामा आउने छन्।”

देशका विभिन्न सहरहरूमा जारी जेनजी आन्दोलनका क्रममा यस्तै प्रकृतिका तोडफोड, सडक अवरोध र सरकारी सम्पत्तिमा क्षतिको घटना भइरहेका छन्। आन्दोलनकारीहरूले बेरोजगारी, शासनप्रणाली सुधार, पारदर्शिता र उत्तरदायित्वका मुद्दा उठाउँदै प्रदर्शन गरिरहेका छन्।

तर, इटहरीमा भएको यो आगजनीले आन्दोलनको उद्देश्य र स्वरूप दुवैप्रति गम्भीर प्रश्न खडा गरेको छ। यसबीच, स्थानीय बासिन्दा तथा सामाजिक संघसंस्थाहरूले यस्ता हिंसात्मक गतिविधिको विरोध गर्दै शान्तिपूर्ण संवादमुखी बाटो अपनाउन सबै पक्षलाई आह्वान गरेका छन्।