इटहरी। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभएको छ । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७(६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम जेभी सँग करिब ५१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अब यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताउनुभयो । स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवर्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । निर्माण व्यवसायीका तर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म ९गर्डर० हालिएको छ । छवटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ । यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गर्नुभएको थियो । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गर्नुभयो । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत हुनुहुन्थ्यो ।


