इटहरी । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताउनुभयो । तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिनुभयो । ठुला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनःनिर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्कालन वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताउनुभयो । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर ९केचना–कञ्चनजङ्घा सडक०अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका–९ भाङटार र वडा नं। ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरुले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् । स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयवासीले पाँच दिन लगातार श्रमदान गरेका थिए । बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताउनुभयो ।


